9851240117

hurpes@gmail.com

Home

About us

Others

awards/ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान २०८२/ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान २०८२

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान २०८२

2025-07-09 14:23:03

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार अर्पण कार्यक्रमः २०८२ असार २३ गते राष्ट्रपति भवन शितल निवासस्थित प्रभास हलमा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार अर्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले दोसल्ला ओढाई सम्मानपत्रसहित वर्ष २०८१ को रु. १ लाख १० हजार राशीको यो पुरस्कार सामाजिक न्यायका अभियन्ता एवं पूर्व राजदुत पदम सुन्दासलाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन यस प्रकार थियोः
कार्यक्रमका सभापति,
पुरस्कृत व्यक्ति सुन्दासजी
उपस्थित महिला तथा सज्जनवृन्द !
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता र सामाजिक न्यायका लागि विगत तीन दशकदेखि मानव अधिकार तथा शान्ति समाज क्रियाशील रहेको विदितै छ । यिनै उद्देश्यका लागि समाजले गरेको कार्यक्रमहरूमा विगतमा मैले सहभागिता जनाएको मेरो सम्झनामा छ ।
सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।
समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएकोमा म सामाजिक न्यायका अभियन्ता एवम् पूर्व राजदूत पदम सुन्दासलाई हार्दिक बधाई दिन चाहन्छु । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी सुन्दासको सामाजिक संस्था र सामाजिक न्यायको क्षेत्रको लामो समयदेखि क्रियाशीलता सराहनीय छ । समाजमा योगदान गरेका मानिसहरूको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ भन्ने मैले विश्वास लिएको छु ।
यसैगरी यो पुरस्कार जसको नाममा स्थापना भएको छ अर्थात बद्रीप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ ।
नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु हाम्रो साझा दायित्व हो । यसमा विगतदेखिनै शान्ति समाजले खेल्दै आएको भूमिकाको सराहना गर्दै बदलिदो परिवेशमा समाजले यसतर्फ अझै प्रभावकारी ढंगले आगामी दिनमा काम गर्ने मैले विश्वास लिएको छु ।
जय नेपाल !
मितिः २०८२ असार २३ गते बिहीबार (राष्ट्रपति कार्यालयको वेवसाइटबाट साभार)
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व पदम सुन्दासले सामाजिक न्यायको आन्दोलनबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पदम सुन्दासको बारेमा उच्च अदालतका पूर्व का.मु. मुख्य न्यायाधीश शेषराज शिवाकोटीले र बद्री पहाडीको बारेमा निवर्तमान सभापति रामकृष्ण बरालले प्रकाश पार्नुभएको थियो । स्वागत वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले र कार्यक्रम सञ्चालन महासचिव प्रकाश शाहीले गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्यहरु, सांसदहरु, नागरिक समाजका अगुवाहरु, स्रष्टाहरु, अधिकारकर्मीहरुसहित राष्ट्रिय जीवनका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।


श्री बद्रीप्रसाद पहाडीबारेः 

मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु. १ लाख १० हजार नगदसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु. १० लाखको अक्षयकोष स्थापना गरिएको थियो । 

श्री बद्रीप्रसाद पहाडीको जन्म वि.स.१९९२ चैत १ गते तत्कालिन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे (हाल संखुवासभा जिल्ला)मा भएको थियो । पिता पद्यंप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गर्नुभएको थियो भने आधा शताब्दी समाजसेवामा योगदान गर्नुभएको छ । ६२ वर्ष अगाडि केही समय मादी हाईस्कुलको अवैतनिक शिक्षकको रुपमा समेत सेवा गर्नुभएका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानहरुको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यको रुपमा समेत योगदान गर्नुभएको छ । पहाडीको बर्दिया जिल्लामा भूमीसुधार नामक पुस्तक र दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहनुभएका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गर्नुभएको छ । 

विभिन्न सामाजिक तथा शैक्षिक प्रतिष्टानहरुलाई आर्थिक सहयोग समेत गर्दै आउनुभएका मनकारी श्री बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय भवन निर्माणका लागि रु. १ करोड नगद सहयोग प्रदान गर्नुभएको थियो ।

मानव अधिकार तथा शान्ति समाज ९० वर्षिय पहाडीको सुस्वास्थ्य तथा आरोग्य जीवनको कामना गर्दछ । 


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links