9851240117

hurpes@gmail.com

Home

About us

Others

Press Releases

भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति 

दक्षिण एशियालाई युद्धमुक्त क्षेत्र बनाउन आग्रह– भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न, विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवद्र्धनका लागि ठोस कदम चाल्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौमा दुई वटा प्रदर्शन गरेको छ । २०८२ वैशाख २६ गते काठमाण्डौ लैनचौरस्थित भारतीय राजदुतावास र चुनदेवीस्थित पाकिस्तानी राजदुतावास अगाडी आधा घण्टासम्म भएको छुट्टाछुट्टै प्रदर्शनमा दक्षिण एशियाका दुई राष्ट्रहरु भारत र पाकिस्तानबीच बढ्दो तनाव र झडप दक्षिण एशियाका लागि मात्र नभएर विश्व शान्तिकै लागि चिन्ता र खतराको विषय भएको उल्लेख छ । प्रदर्शनमा सहभागिहरुले आतङ्कवाद सदैव निन्दनीय छ, अतिवाद र आतंकवाद मानवताका शत्रु हुन, शान्तिको कुनै विकल्प हुँदैन ः युद्धको कुनै भविष्य हुँदैन, दक्षिण एशियालाई युद्धरहित क्षेत्र बनाऔँ, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ, युद्धमा सवैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।  

भारतीय दुतावास अगाडि भएको प्रदर्शनमा “आतङ्कवाद सदैव निन्दनीय छ तर सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ?, भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र । छिमेकी नेपालको लोकतन्त्र विरुद्ध पनि कतैबाट षडयन्त्र नहोस्, भारत र नेपालबीच नागरिक स्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो” लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । यसैगरी पाकिस्तानी दुतावास अगाडि भएको प्रदर्शनमा “अतिवाद र आतङ्कवादबाट पिडित पाकिस्तान स्वयंले आतङ्कवादलाई अंगालो किन हालेको ?, पहलगाम आतङ्की आक्रमणमा संलग्नलाई पाकिस्तानले किन संरक्षण गरेको ?, पहलगाम आतङ्की आक्रमणमा संलग्नलाई पाकिस्तानले किन कारवाही नगरेको?” लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्ततमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाईं, सल्लाहकार रामप्रसाद जोशी, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रिय सदस्यहरु नम्रता खरेल, उमा गौतम, रोजिना बिष्ट, माणिराम दाहाल, काठमाडौँ शाखा सभापति बिकास थापा, लतिलपुर शाखा सभापति मन बहादुर थापा, चिवतन शाखा सभापति पूर्णचन्द्र चापागाई, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, आजीवन सदस्यहरु ईश्वर पुडासैनी, रविना पौडेल, तुलसीराम भण्डारी लगायत शान्तिवादीहरुको सहभागिता थियो । प्रदर्शन पश्चात समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको ज्ञापनपत्र दुतावास मार्फत हस्तान्तरण गरिएको थियो भने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई लेखिएको पत्र पाकिस्तानी दुतावासले बुझ्न नमानेका कारण इमेलबाट पठाइएको थियो । ज्ञापनपत्रमा भारतको पहलगाममा आतङ्कवादीद्वारा एक नेपालीसहित २६ जना निर्दोष मान्छेको हत्या मानवता विरुद्धको अपराध हो भन्दै त्यस्तो आतङ्की कृत्यमा संलग्न जुनसुकै संगठन वा व्यक्ति हुन तिनिहरुमाथि कारवाही हुनुपर्छ । आतङ्की कृत्यमा संलग्न संगठन वा व्यक्तिहरुलाई कुनै पनि राष्ट्रले संरक्षण गर्नु हुदैँन भनिएको छ ।

ज्ञापनपत्रमा भारतको पहलगाममा आतङ्कवादीद्वारा एक नेपालीसहित २६ जना निर्दोष मान्छेको हत्या मानवता विरुद्धको अपराध हो भन्दै त्यस्तो आतङ्की कृत्यमा संलग्न जुनसुकै संगठन वा व्यक्ति हुन तिनिहरुमाथि कारवाही हुनुपर्छ । आतङ्की कृत्यमा संलग्न संगठन वा व्यक्तिहरुलाई कुनै पनि राष्ट्रले संरक्षण गर्नु हुदैँन भनिएको छ । युद्धमा सवैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ । तसर्थ शान्तिको कुनै विकल्प हुदैँन भन्दै युद्ध एवं आणविक अस्त्ररहित विश्वको परिकल्पनासहित युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत रहेको उल्लेख गर्दै दक्षिण एशियालाई युद्धरहित क्षेत्र बनाउन विशेष आग्रह गरिएको छ । समाजका तर्फबाट सरिता पौडेल उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज २६ वैशाख २०८२

2025-05-09 14:29:06

नागरिक स्वतन्त्रताको शत्रु पूर्वराजा ज्ञानेन्द्र शाह–कृष्ण पहाडी


प्रेस विज्ञप्ति

नागरिक स्वतन्त्रताको शत्रु पूर्वराजा ज्ञानेन्द्र शाह–कृष्ण पहाडी 

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु पूर्व राजा ज्ञानेन्द्र भएको बताउनुभएको छ । केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन भन्ने भनाईप्रति टिप्पणी गर्दै पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु् पूर्व राजा ज्ञानेन्द्र्र शाह नै भएको इतिहासबाट प्रमाणित भइसकेको बताउनुभएको हो । 

१९ औँ लोकतन्त्र दिवसका अवसरमा २०८२ वैशाख १० गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित “सुशासन र सशक्तिकरणले लोकतन्त्रलाई स्थायी बनाउँछः कुशासन र भ्रष्टाचारले लोकतन्त्रको आयु घटाउँछ, कुशासन र दण्डहीनतालाई बढावा दिने नेताहरु लोकतन्त्रका शत्रु हुन, लोकतन्त्रको प्राण हरण गर्न खोज्नेहरु नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु हुन” विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताहरुका कारण लोकतन्त्रलाई नै धराप पारिएको भन्दै दागी नेताहरुलाई कारबाही गरि सुशासन प्रत्याभूतिको सन्देश दिन आग्रह गर्नुभयो । पहाडीले जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरुसँग विगतमा भएका सहमति शिघ्र कार्यान्वयनमा जोड दिनुभयो । 

कार्यक्रममा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा योगदान गर्ने नागरिक अगुवाहरु कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एशोसिएसनका पूर्व सभापति डा. केदारनरसिंह केसी, कवि अर्जुन पराजुली,  नन्दकृष्ण जोशीले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताउनुभयो । 

कार्यक्रममा २२ दिनदेखी जारी शिक्षकहरुको आन्दोलनबारे शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तथा शान्ति समाजका पूर्व झापा शाखा सभापति तेजप्रसाद चौलागाईले प्रकाश पार्नुभएको थियो भने नागरिक अगुवाहरुले शिक्षक आन्दोलनलाई शिघ्र सम्बोधन गर्न सम्बन्धीत निकायहरुलाई आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल वार एशोशियसनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्र, शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा वरिष्ठ उपभापति राजेन्द्र पौडेलले यसै सन्दर्भमा शान्ति समाजले तयार गरेको ४ पृष्ठको अवधारणापत्र प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले स्वागत मन्तव्य र सदस्यता अपिल समितिका संयोजक किरण ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । 

समाजका तर्फबाट


सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

१० वैशाख २०८२


2025-04-23 17:16:46

मोरङका ३३ जना बालिकालाई चौथो वर्षको छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति

मोरङका ३३ जना बालिकालाई चौथो वर्षको छात्रवृत्ति प्रदान 

‘छोरी पढाऔ: गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तगर्त ३३ जना विपन्न दलित समुदायका बालिकालाई चौथो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । मोरङ जिल्लाको थलाहामा २०८१ चैत्र २९  गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २६ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि कक्षा ८ मा अध्ययनरत ३३ जना बालिकालाई वर्ष २०८१ को चौथो वर्षको छात्रवृत्ति रकम प्रत्येकलाई रु. १२ हजार प्रदान गरिएको हो ।

शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रेनुका पौडेल, महासचिव प्रकाश शाही, जनता मा.वि.थलाहाका सञ्चालक समिति अध्यक्ष मोहनलाल विश्वास, विद्यालयका प्रधानाध्यापक सुनिल राई, वडा अध्यक्ष मनोजकुमार माझी, छात्रवृत्ति प्राप्त गर्ने बालिका आशिकाकुमारी सरदार लगायत वक्ताहरुले शान्ति समाजद्वारा सञ्चालित बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्नुभएको थियो भने स्वागत शान्ति समाज मोरङ शाखाका पूर्व सभापति भेषराज पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, उपसभापति लक्ष्मीनारायण मिश्र, कोशी प्रदेश सचिव सन्तोष रौनियार, केन्द्रीय सदस्यहरु नम्रता खरेल र शम्भु राउत तथा छात्रवृत्ति पाउने विद्यार्थीका अभिभावकहरुको सहभागिता थियो । 

२०७८ सालबाट प्रारम्भ भएको पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुले चार जना, रामप्रसाद जोशीले दुई जना, अपूर्वा शर्माले दुई जना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नु भएको छ । यसैगरी अधिकारकर्मीहरु रामकृष्ण बराल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, गोविन्द खनाल, कृष्णबहादुर रावल, किरण ढकाल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल र लक्ष्मी बरालले चौथो वर्षको यो छात्रवृत्ति अभियानका लागि सहयोग गर्नुभएको हो ।  

समाजका तर्फबाट


सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

२९ चैत्र २०८१


2025-04-11 12:26:33

जलवायु न्यायबारे राष्ट्रपतिको ध्यानाकर्षण

प्रेस विज्ञप्ति

जलवायु न्यायबारे राष्ट्रपतिको ध्यानाकर्षण 

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८१ चैत्र १९ गते  सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जलवायु न्याय सम्बन्धी अभियानबारे अवगत गराएको छ । 

१७ वर्ष अगाडिदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको समाजले पछिल्लो चरणमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामानै समावेश गर्न आग्रहसहित २०८१ चैत्र १७ गतेबाट  जलवायु न्याय केन्द्रीत विशेष अभियान संचालन गरिरहेको छ । 

राष्ट्रपतिको कार्यालय महाराजगञ्ज काठमाडौमा भएको भेटमा भविष्यमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संसोधनका क्रममा अहिंसात्मक जीवनधारा र जीवनचक्र परिस्थिति सन्तुलनलाई संविधानको प्रस्तावनामानै समावेश गर्नसहित १० बुँदामा केन्द्रीत रहि अभियान थालेको अवगत गराउँदै संविधान संसोधन निरन्तर चलिरहने प्रक्रिया भएको भन्दै नागरिक सर्वोच्चताको प्रतिक लोकतान्त्रिक गणतन्त्रको विकल्प कल्पना पनि गर्न नसकिने स्पष्ट गरेको छ ।

प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाईं र डा. गङ्गाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशी कोषाध्यक्ष चन्द्रमणि बन्जारा, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, मणिराम दाहाल, रुपा पुडासैनी, रोजिना बिष्ट सम्मिलित हुनुहुन्थ्यो ।

समाजका तर्फबाट

सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

१९ चैत २०८१ 


सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू,

राष्ट्रपतिको कार्यालय

महाराजगञ्ज, काठमाडौं नेपाल 

विषयः जलवायु न्यायबारे ध्यानाकर्षण ।

सम्माननीय राष्ट्रपतिज्यू,

१. लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले १७ वर्ष अगाडिदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो चरणमा  जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामानै समावेश गर्न आग्रहसहित २०८१ चैत्र १७ गतेबाट  जलवायु न्याय केन्द्रीत विशेष अभियान संचालन गरिरहेको सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउँछौ । 

१.१. जलवायु संकट (क्लाइमेट क्राइसिस) गहिरिनुमा मानव सिर्जित गतिविधिहरु जिम्मेवार रहेको छ । जलवायु परिवर्तनका लागि जिम्मेवार हरितगृह ग्यास कार्बनडाइअक्साइडको उत्सर्जनलाई न्युन बनाउने (नेट जिरो) लक्ष्य हासिल गर्ने दृढ संकल्प र इच्छाशक्ति सर्वत्र प्रतिविम्वित हुनुपर्छ । 

१.२. जलवायु प्रणाली (क्लाइमेट सिस्टम) र जलवायु संवेदनशीलता (क्लाइमेट सेन्सेटीभिटी) प्रति गम्भिर हुँदै जगत रक्षा केन्द्रित आचरण÷व्यवहार सर्वत्र प्रदर्शन हुनुपर्छ । भविष्यमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संसोधनका क्रममा अहिंसात्मक जीवनधारा र जीवनचक्र पारिस्थिति सन्तुलनलाई संविधानको प्रस्तावनामानै समावेश गर्नुपर्छ । संविधान संसोधन निरन्तर चलिरहने प्रक्रिया हो तर नागरिक सर्वोच्चताको प्रतिक लोकतान्त्रिक गणतन्त्रको विकल्प कल्पना पनि गर्न सकिदैन ।  

१.३. जलवायु परिवर्तनका कारण सिर्जना हुने जनस्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आवश्यक नीति तर्जुमा र पूर्व तयारी गर्न  राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमै जलवायु कानून बनाउनु पर्छ र विशेष जलवायु नीति अवलम्वन गर्नुपर्छ । 

१.४. जलवायु शिक्षा (क्लाइमेट एजुकेशन)लाई प्राथमिक शिक्षा देखिनै समावेश गर्नुपर्छ । 

१.५. जलवायु शरणार्थी÷विस्थापितहरुको संख्या बढ्दै जाने संभावनाप्रति सचेत हुँदै पूर्व सतर्कता प्रणाली प्रभावकारी बनाउने उपायसहित उद्धार राहत पुनर्वासको बलियो संयन्त्र निर्माण गर्नुपर्छ । 

१.६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै जलवायु क्षतिपूर्तीका लागि उपयुक्त व्यवस्था हुनुपर्छ । 

१.७. हिमालय÷चुरे बचाउँ अभियानलाई राष्ट्रिय अभियान घोषणा गर्नुपर्छ । चुरेको अत्याधिक दोहन शिघ्र बन्द गर्नुपर्छ ।

१.८. जीवनचक्र परिस्थिति सन्तुलन अनुरुप राज्य संयन्त्रहरु परिमार्जित गर्नुपर्छ । 

१.९. जलवायु कार्य (क्लाइमेट एक्सन)को विस्तार र व्यापकतामा जोड दिँदै जगतमुखी जीवन धारा समस्त संस्था÷निकायहरुको केन्द्रविन्दुमा रहनुपर्छ । 

१.१०. जलवायु न्याय (क्लाइमेट जस्टिस) सर्वत्र प्राथमिकता हुनुपर्छ । विश्वभरी कम आय भएका, जलवायु परिवर्तनबाट प्रभावित समुदाय र मानिसहरुले राहत पाउनुपर्छ । यो समस्याका लागि जिम्मेवार नभएका÷कम जिम्मेवार भएका स्थानहरुले न्याय पाउनुपर्छ । 


रेनुका पौडेल

सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति

१९ चैत्र २०८१


2025-04-01 13:07:56

आपराधिक कृत्यका सुत्रधार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानूनसम्मत दण्डित गर्न आग्रह

प्रेस विज्ञप्ति

आपराधिक कृत्यका सुत्रधार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानूनसम्मत दण्डित गर्न आग्रह 

विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामानै समावेश गर्न आग्रहसहित २०८१ चैत्र १७ गते जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको छ । जलवायु न्याय केन्द्रीत विशेष अभियान अन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष वाग्मतीनगरमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालको संविधान लागू भएको एक दशक वित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै अवको संसोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामानै समावेश हुनुपर्नेमा जोड दिनुभयो । 

नागरिक सर्वोच्चता र स्वतन्त्रतानै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुर्नस्थापना  असंभव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुर्नस्थापनाको माग गर्नेहरु सभ्यता र स्वतन्त्रता विरोधी भएको बताउनुभयो । प्रमुख राजनीतिक दलका नेताहरुप्रतिको वितृष्णालाई लोकतन्त्र विरोधी पूर्व राजावादीहरुले भजाउन खोजेकोतर्फ इंगित गर्दै पहाडीले प्रमुख दलहरुको कमजोरीकै कारण युवा पुस्ता निराश हुँदै गएको उल्लेख गर्नुभयो । 

चैत्र १५ गते पूर्व राजावादीहरुको मोर्चाले काठमाण्डौमा मच्चाएको लुटपाट, तोडफोड र आगजनी जस्ता नियोजित आपराधिक कृत्यका सुत्रधार पूर्व राजा ज्ञानेन्द्र शाहलाई कानून सम्मत कारवाही एवं दण्डित गर्न आग्रह गर्दै पहाडीले पूर्व राजा ज्ञानेन्द्रलाई कारबाही नभएमा अराजकता र हिंसाले बढावा पाउने आशंका व्यक्त गर्नुभयो ।  

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव तथा जैवीक विविधता तथा पारिस्थितिकिय प्रणाली सम्बन्धी अन्तर सरकारी मञ्चका उपाध्यक्ष डा. विश्वनाथ ओली, जलवायु तथा प्राकृति स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणी नेपाल, नीति कानून तथा योजना विद प्रताप पौडेल, शान्ति समाजका सल्लाहकार तथा निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले अवधारणा प्रस्तुत गर्नुभएको थियो ।  

शान्ति समाजले शुरु गरेको जलवायु न्याय केन्द्रीत विशेष अभियानका क्रममा चैत्र १७ गते समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलाम लगायत आधा दर्जन बढी शाखाहरुले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेका छन् । 

समाजका तर्फबाट

सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

१७ चैत २०८१ 


2025-03-30 15:20:06

सामाजिक न्यायका अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार

प्रेस विज्ञप्ति

सामाजिक न्यायका अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार 

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको यो पुरस्कार सुन्दासलाई प्रदान गर्ने निर्णय शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट समितिले गरेको हो ।

२००२ साल असार ३२ गते भोजपुरमा जन्मनुभएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदुतका रुपमा २०७४ देखि ७८ सम्म ४ वर्ष कार्य गर्नुभएको थियो । 

सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गर्नुभएको थियो । उहाँले सामाजिक न्यायको खातिर अनसन लगायत विभिन्न संघर्षहरुमा योगदान गर्नुका साथै २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालय, उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको रुपमा समेत सेवा गर्नुभएका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्ष सम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको उपाध्यक्षका रुपमा समेत कार्य गरिसक्नुभएको छ । 

उहाँ एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्य समेत हुनुहुन्छ । सुन्दासको भोजपुरको चिनारी नामक पुस्तक र चोरिएको रात कथा संग्रह २०२५ सालमा प्रकाशित भएको थियो । 

दक्षिण अफ्रिकामा सन् २००१ मा सम्पन्न जातीभेद विरुद्धको तेस्रो विश्व सम्मेलन, स्वीजरल्याण्डमा सन् २००९ मा सम्पन्न डर्बान रिभ्यु कन्फरेन्स लगायत दर्जन बढी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सुन्दासको सहभागिता रहेको थियो । सन् २००८ मा उहाँले संविधान निर्माण प्रक्रिया अध्ययनका क्रममा भारतको भ्रमण गर्नुभएको थियो भने मानव अधिकार र दलित समस्याबारे सन् २०१४ मा न्यु स्कुल अमेरिकामा प्यानलिस्टको रुपमा रहनुभएको थियो । 

पदम सुन्दास २०७३ सालमा नेपाल सरकार संस्कृति पर्यटन मन्त्रालयबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । 

समाजका तर्फबाट

प्रकाश शाही

महासचिव, मानव अधिकार तथा शान्ति समाज

केन्द्रिय कार्यसमिति

१ चैत २०८१ 


2025-03-14 10:47:24

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links