9851240117

hurpes@gmail.com

Home

About us

Others

Our Campaigns

जलवायु न्याय हाम्रो अधिकार -पारिस्थितिक सन्तुलन कायम गरौँ, उद्धार राहत र पुनर्वासका लागि स्थायी संयन्त्र गठनमा विलम्ब नगरौँ

9/14/2026

             जलवायु न्याय हाम्रो अधिकार

(पारिस्थितिक सन्तुलन कायम गरौँ, उद्धार राहत र पुनर्वासका लागि स्थायी संयन्त्र गठनमा विलम्ब नगरौँ)

( २०८३ असोज– कार्तिकमा हुने मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरूको साधारण सभाको उद्घाटन सत्रमा प्रस्तुत अवधारणा पत्र)

१. जलवायु न्यायका लागि शान्ति समाजको अभियानः विगत दुई दशकदेखि मानव अधिकार तथा शान्ति समाजले जलवायु न्याय केन्द्रित अभियान सञ्चालन गर्दै आइरहेको छ । यसका मूलतः चार आयाम छन् जुन एक आपसमा अन्तर सम्बन्धित छन् । पहिलो जलवायु परिवर्तन र विश्वव्यापी उष्णता, त्यसबाट परेको असर र जलवायु न्यायको सन्दर्भ । (दुई दशकदेखि शान्ति समाज निरन्तर अभियानरत छ । ) दोस्रो हिमालय÷चुरे बचाऊँ, नदी जोगाउ अभियान । (शान्ति समाज एक दशकदेखि निरन्तर अभियानरत छ ।) तेस्रो जीवनचक्र–पारिस्थितिक सन्तुलन (इकोलोजिकल व्यालेन्स) र लोकतन्त्रको ढाँचालाई सोही अनुरूप  परिमार्जन गर्न  र संयन्त्र निर्माण तथा परिमार्जन । (स्मरणीय छ, २०६४ पछि शान्ति समाजले संविधानको प्रस्तावनामा नै जीवनचक्र पारिस्थितिक सन्तुलन समावेश गर्न आफ्नो क्षमताले भ्याएसम्म पहलका बाबजुद असफल । ) चौथो प्राकृतिक विपत्तिका दौरान उद्धार राहत र पुनर्वासका लागि बलियो स्थायी संयन्त्रको निर्माणका लागि पहल । (शान्ति समाजको दुई दशकको अभियानका बाबजुद आजसम्म समाजको परिकल्पना अनुरूपको स्थायी संयन्त्र निर्माण हुन सकेको छैन) । 

२. हिमालयको गर्भमा हलचलः २०८३ भदौ १० गते रसुवा सेरोफेरोको उच्च हिमाली भागमा गएको हिम चट्टानसहितको हिम पहिरो र त्यसपछि भोटेकोसी÷त्रिशूलीमा आएको विनाशकारी बाढीले  ठुलो जनधनको क्षति भएको छ । हिमालयको गर्भमा भएको यो विस्फोट अगाडि त्यस क्षेत्रको तापक्रम अस्वाभाविक रूपमा वृद्धि भएको र सोही कारण ठुलो मात्रामा हिउँ पग्लिनुका साथै  चट्टानको ठुलो हिस्सा चोइटिएर झरेको तथ्य प्रकाशमा आएको छ । ठुलो उचाइबाट हिउँ र चट्टान सहित तीव्र गतिमा झरेको हिम पहिरोको कारण भएको विस्फोट र त्यसबाट सिर्जित जल प्रलय दुखद  एवं त्रासदीपूर्ण घटना हो जसको मूल्य मानवताले तिर्नुपरेको छ । त्यसका पछाडि जलवायु परिवर्तन एवं विश्वव्यापी उष्णता÷तापक्रममा निरन्तर वृद्धि कारण देखिएकोछ जुन मानव सिर्जित हो । उक्त त्रासदीका कारण भदौ २५ गते सार्वजनिक भएको विवरण अनुसार १३७७ जनाको मृत्यु भएको छ भने ५१३० जना हराइरहेको बताइन्छ र यो सङ्ख्या अझ बढी हुनसक्छ । यसै गरी सो विनाशकारी बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन सरकारले गरेको छ । 

रसुवा त्रासदीले धेरै कुरा सङ्केत गरेको छ । त्यस्तो त्रासदी दोहोरिन नदिन वा त्यस्तो त्रासदीबाट मानव सभ्यतालाई बचाउन र प्राकृतिक विपत्तिको सामना गर्न  सोही अनुरूपको नीति, संयन्त्र÷ संरचना र संसाधनको प्रबन्ध आवश्यक छ । यी नै तथ्यलाई मध्यनजर गर्दै शान्ति समाजले दुई दशक अगाडि देखी माथि उल्लेखित चार वटा विषयलाई अघि सारेको थियो । अब ती सुझावलाई आत्मसात÷अवलम्बन गर्न विलम्ब नगरौँ । यसको मूल कारण भौगोलिक संरचना विशेषतः हिमालयको अवस्थितिबारे जान्नु आवश्यक छ । 

३. संवेदनशील हिमालयः झण्डै पाँच करोड वर्ष अगाडिको सेरोफेरोमा हिमालयको उत्पत्ति भएको थियो । हाल हिमालय अवस्थित ठाँउमा त्यस बेला टेथिस नामक सागर अस्तित्वमा थियो । युरेसियन र इण्डियन टेक्टोनिक प्लेटको ठक्कर÷घर्षणबाट हिमालयको अभ्युदय भएको थियो । विश्वकै सबैभन्दा कान्छो र उच्च हिमालय अहिले पनि बर्सेनि आधा देखि एक सेन्टिमिटरका दरले चुलिँदै गएको बताइन्छ । यसको अर्थ हिमालयले एकै पटक हालको उचाइ हासिल गरेको होइन । 

पश्चिममा कश्मीरको नांगा पर्वतदेखि शुरु भएर पूर्वमा ब्रम्हपुत्र नदीसम्म फैलिएको विश्वकै उच्च हिमालय शृङ्खला २,४०० किलोमिटर लामो छ र २५० देखि ३०० किलोमिटर चौडा छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा टाकुरामध्ये १० वटा हिमालयमै अवस्थित छन् । त्यसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) सहित आठ वटा उच्च टाकुरा नेपालमा पर्दछन् । 

अन्टार्कटिका (९० प्रतिशत), आर्कटिक (९ प्रतिशत) पछि हिमालय विश्वको तेस्रो ठुलो बरफ÷हिउँ भण्डारण क्षेत्र हो तसर्थ यसलाई तेस्रो ध्रुव पनि भन्ने गरिन्छ । हिमालय नदीको जननी हो । गङ्गा, ब्रम्हपुत्र, कर्णाली, गण्डकी र कोसी नदी हिमालयबाटै निसृत हुन्छन् । एसियाका झण्डै १ अरब भन्दा बढी मानिसहरूको जीवन धारा यिनै  नदीमा आश्रित छ । हिन्दकुश क्षेत्र समेत गरी हिमालयको काखमा  झण्डै ५४००० हिमनदी र झण्डै २८००० हिमताल अस्तित्वमा छन् । 

४. हिमालयको काखमा नेपालः हिमालय शृङ्खलाको २,४०० किलोमिटर खण्डमध्ये करिब एक तिहाइ खण्ड अर्थात् ८८५ कि.मि. नेपालको उत्तरी क्षेत्रमा रहेको हिमालय खण्डले ओगटेको छ । यही उच्च हिमशृङ्खलाले मध्य एसियाबाट वहने चिसो सुख्खा हावालाई रोकी यस क्षेत्रको जनजीवनलाई सहज बनाएको छ । नेपालमा अवस्थित हिमालयमा झण्डै ३८०० हिमनदी र झण्डै २३०० हिमतालहरू छन् । नदीमा पानीको मुहान यिनै हिमनदी÷हिमतालहरू हुन । 

नेपालको क्षेत्रफलको ७७ प्रतिशत भूमि उच्च पहाड तथा हिमालय क्षेत्रले ढाकेको छ भने २३ प्रतिशत भू–भाग समथर छ । नेपालको उत्तरी खण्डमा समुद्र सतहदेखि करिब ४,८७७ मिटर देखि ८,८४८ मिटर सम्मको उचाइमा फैलिएको हिमाली क्षेत्रले नेपालको क्षेत्रफलको १५ प्रतिशत भू–भाग ओगटेको छ । ट्रान्स हिमालयन क्षेत्रबाहेक मूलतः हिमालय तीन भागमा वर्गीकृत छ । पहिलो उच्च हिमालय जसलाई हिमाद्रि पनि भनिन्छ । दोस्रो तल्लो हिमालय अर्थात् महाभारत क्षेत्र र तेस्रो बाह्य हिमालय अर्थात् शिवालिक÷चुरे क्षेत्र । करिब ६०० मिटरदेखि ४८७७ मिटर उचाइसम्म फैलिएको कडा चट्टानी पहाड पर्वतले ढाकिएको पहाडी क्षेत्रले ६८ प्रतिशत भू–भाग ओगटेको छ । नेपालको दक्षिणी भागमा अवस्थित समथर भू–भाग तराई÷मधेशले नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको छ । समग्रमा हिमालयको गर्भमा हुने कुनै पनि भुचाल सम्बन्धी खलबल, प्रकोप को प्रत्यक्ष प्रभाव तराई÷मधेशदेखि गङ्गा उत्तरको समग्र मैदानी इलाकामा पर्दछ । तसर्थ हिमालय अस्थिर हुनु वा हिमालयमा कुनै पनि प्रकोप हुनु भनेको हिमाद्रि, महाभारत, चुरेदेखि नेपालको समस्त तराई मधेशमा सङ्कट गहिरिनु हो । चाल्नी जस्तो रहेको चुरेको अत्यधिक दोहनले एकातिर मधेशमा बाढी र डुबानको खतरा झनै बढ्छ भने अर्कोतिर कालान्तरमा मधेश मरुभूमिकरण तर्फ धकेलिन सक्छ । 

 ५. जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालयको भविष्यः जलवायु परिवर्तन र विश्वव्यापी उष्णता मानव सभ्यताकै लागि सबैभन्दा ठुलो चुनौती र खतरा हो । यसका कतिपय कारण मनुष्य सिर्जित हुन् । जलवायु परिवर्तन सम्बन्धी राष्ट्र सङ्घीय फ्रेमवर्क अनुबन्धले “जलवायु परिवर्तन” शब्दलाई मानवका कारण भएको परिवर्तन भन्ने अर्थमा प्रयोग गरेको छ । विश्वव्यापी उष्णता भनेको पृथ्वीको नजिकको हावाको सतह र महासागरमा हालका दशकहरूमा भएको सरदर तापक्रममा वृद्धि हो । पृथ्वीको सतहको नजिकको हावाको तापक्रम गत एक सय वर्षमा २ डिग्री फरेनहाइट सम्मले चिन्ताजनक रूपमा बढेको छ । यसको कारण हरित गृह ग्याँसको वृद्धि हो । तापक्रममा यस्तो वृद्धिले हिमनदी÷ताल पग्लने, समुन्द्री सतह बढ्ने, कृषि क्षेत्रमा प्रतिकुल प्रभाव पर्ने, कतिपय जीव लोप हुने र रोगको सङ्ख्यामा वृद्धि हुने जस्ता संभावनामा वृद्धि भएको छ ।

हरित गृह ग्याँसहरू भनेका वायुमण्डलका ती बस्तुहरू हुन जसले हरित गृह प्रभावका लागि योगदान गर्दछन् । औद्योगिक गतिविधि (जिवाष्म इन्धन) र अन्य मानव गतिविधिहरू जस्तो कि वन विनाशले कार्बन डाइअक्साइड जस्तो हरित गृह ग्यासको घनत्वमा वृद्धि गरेको छ । हरित गृह ग्यासको वृद्धिले एकातिर अन्टार्कटिका र आर्कटिक क्षेत्रमा घातक प्रभाव पार्न थालेको छ जसका कारण जल प्रलय निम्तिने र तटवर्ती समुद्री शहरहरु डुब्ने डरलाग्दो संभावना एकातिर छ भने अर्कोतिर सन् २१०० सम्ममा हिन्दकुश हिमालयमा रहेको एक तिहाइ बरफ÷हिउँ लोप हुने बताइन्छ । जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालयमा हलचल तेज हुँदै गइरहेको देखिन्छ । त्यसको एउटा उदाहरण हो भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी । 

६. जलवायु न्याय, क्षतिपूर्ति र नेट जिरो लक्ष्य हासिल गर्ने सन्दर्भः 

क. प्रकृति रहे जीवन रहन्छः वृक्षरोपण एवं भएका वनहरूको संरक्षण र भू (माटो) व्यवस्थापन मार्फत वायुमण्डलमा भएको कार्बन डाइअक्साइडको मात्रालाई हटाउन सकिन्छ । मानव लगायत सम्पूर्ण जीवहरूको अस्तित्व प्रकृति, जगतसँग जोडिएको छ । जगत रहे मात्र जीवन रहन्छ तर जलवायु सङ्कट यसरी नै चुलिँदै गए मानव अस्तित्व नै सङ्कटमा पर्ने हुँदा सर्वप्रथम जलवायु परिवर्तनका लागि जिम्मेवार हरित गृह ग्यास (कार्बनडाइअक्साइड आदि) को उत्सर्जनलाई विश्वभरि नै न्यून बनाउनु (नेट जिरो) सबैको प्रमुख दायित्व र प्रकृतिप्रति गरिने न्याय हो । 

जलवायु न्याय यस्तो नैतिक सिद्धान्त हो, जसले जोखिममा रहेका समुदाय र भावी पुस्तामाथि जलवायु परिवर्तनले पार्ने असमान प्रभावलाई सम्बोधन गर्ने प्रयास गर्दछ । जलवायु न्यायको अर्थ जलवायु परिवर्तनका विषयमा गरिने निर्णय र कार्यहरूमा समता र मानव अधिकारलाई केन्द्रविन्दुमा राख्नु हो । जलवायु न्याय भनेको त्यस्तो आन्दोलन हो जसले जलवायु परिवर्तनका कारण सबैभन्दा मारमा परेका विपन्न,बन्चित समुदाय तथा राष्ट्रलाई न्याय एवम् संरक्षण प्रदान गर्छ जसको हरित गृह ग्यास उत्र्सजनमा न्यून योगदान हुन्छ । 

ख. दोहोरो मारमा नेपालः विश्वमा लगभग ३३ प्रतिशत अर्थात् सबैभन्दा बढी हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्र चीन हो । दोस्रोमा अमेरिका ११ प्रतिशत, तेस्रोमा भारत ८ प्रतिशत, युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरू लगभग ६ प्रतिशत, रुस झण्डै ५ प्रतिशत र जापान २.५ प्रतिशत रहेका छन् । अर्थात् विश्वको दुई तिहाइ हरित गृह ग्यास उत्सर्जन माथि उल्लेखित देशहरूले मात्र गर्दछन् । यो सूचीमा ९५ नम्बरमा रहेको नेपालले गर्ने उत्सर्जन शून्य दशमलव शून्य चार मात्र रहेको छ । तसर्थ सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले न्यूनतम उत्सर्जन गर्ने राष्ट्रहरूलाई गर्नुपर्ने भरपाई जलवायु क्षतिपूर्ति हो । क्षतिपूर्ति ती पिडित राष्ट्र,समुदायको अधिकार हो किनकि विश्वको कुनै पनि भागमा जलवायु परिवर्तनका कारण हुने दुर्घटना, क्षतिको मूल जिम्मेवार अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरू भएकोले त्यसको क्षतिपूर्ति पनि तिनै राष्ट्रहरूले वहन गर्नुपर्छ । हरित गृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्याधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेपालमा परेको हुँदा दुई छिमेकीहरूबाट क्षतिपूर्ति उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्छ भन्ने धारणासहित एक दशक अगाडि शान्ति समाजले हिमालय बचाउ, नदी जोगाउ अभियान सञ्चालन गरेको थियो । साथसाथै शान्ति समाजले हिमालय संरक्षणका विषयमा केन्द्रित रही चीन र भारतसँग सहकार्यमा निरन्तर जोड दिँदै आइरहेको छ । सीमा पार हुने जलवायु तथा नदीजन्य जोखिममा नेपाल–भारत–चीन बीच अन्तर देशीय सहकार्य र वैज्ञानिक सुचना साझेदारी लगायतका विषयलाई घनिभूत रुपमा अगाडि बढाउनु पर्छ । 

७. विनाश होइन संरक्षणमुखी विकासको मार्ग रोजौँः भुचाल सम्बन्धी खलबलका कारण हिमालय क्षेत्र यसै पनि संवेदनशील छ । पोखरा पश्चिमदेखि भारतको देहरादुन सेरोफेरो सम्म विगत ५२० वर्षमा ठुलो भूकम्प नआएको र सिस्मिक ऊर्जा (स्टे«न) भूगर्भमा

सञ्चित हुने क्रम बढिरहेको हुँदा सो क्षेत्रमा कुनै पनि बेला विनाशकारी भूकम्प जान सक्ने संभावना भुगर्भविदहरुले व्यक्त गर्दै आएका छन् । एकातिर भूकम्पीय लगायत दृष्टिकोणले हिमालय क्षेत्र सर्वाधिक संवेदनशील छदैँछ अर्कोतिर विकास निर्माणको नाममा उच्च हिमाली क्षेत्रमा निर्मित ठुला जलविद्युत आयोजनाहरू जल प्रलयको कारण बन्न सक्ने संभावना नकार्न सकिँदैन । भारतले संवेदनशील हिमालय क्षेत्र उत्तराञ्चल राज्यको टिहरी गढवालमा भागीरथी नदीमा निर्माण गरेको भारतकै सबैभन्दा ठुलो २४०० मेगावाट विद्युत क्षमताको आयोजनाको ८५५ फिट अग्लो बाँधको जलाशय कथंकदाचित फुट्यो भने अकल्पनीय क्षती हुनसक्छ । 

यसै गरी चीनले तिब्बतको संवेदनशील हिमालय क्षेत्र अर्थात् भारतको अरुणाचल राज्यको सीमा नजिकै यारलुङ त्साङ्पो अर्थात् ब्रम्हपुत्र नदीमा बनाउने घोषणा गरेको ६० हजार मेगावाट क्षमताको ( ६० गिगावाट) विश्वकै सबैभन्दा ठुलो जलविद्युत आयोजना (मेडोग प्रोजेक्ट) को प्रारूपले भारत बङ्गलादेश लगायत ब्रम्हपुत्र बग्ने क्षेत्रका बासिन्दाहरू त्राहिमाम् छन् । हाल विश्वकै ठुलो थ्री गर्जेज आयोजना भन्दा तीन गुणा ठुलो यो प्रस्तावित चिनिया आयोजना बन्यो र कथंकदाचित ठुलो दुर्घटना भयो भने ब्रम्हपुत्र किनारामा हुने जल प्रलय कल्पना भन्दा बाहिरको हुनसक्छ । रसुवा त्रासदीपछि पनि चीनले उक्त प्रस्तावित आयोजनामा पुनर्विचार गर्ने सङ्केत गरेको छैन । हिमालय अवस्थित चीन, भारत, नेपाल, भुटान र पाकिस्तानमा उच्च हिमाली क्षेत्रमा बनाइने कुनै पनि ठुलो बाँध, जलाशय मानवताकै लागि घातक हुनसक्छ । तसर्थ विनाशमुखी होइन, वातावरण संरक्षणमुखी विकासको मार्ग अवलम्बन गर्न र जलवायु जोखिमलाई मध्य नजर गर्दै हिमालय मैत्री नीति अवलम्बन शान्ति समाज सम्बद्ध सबैलाई  पुनः आग्रह गर्दछ । 

८. विनाशबाट बच्ने संयन्त्र निर्माणमा विलम्ब नगरौँः  शान्ति समाजले वि.स.२०६४ सालमा “जलवायु परिवर्तनका कारण विस्थापित÷शरणार्थी हुनसक्ने सम्भावना र त्यसका कारण, मात्रा (सङ्ख्या) आदिबारे समयमै पहिचान गरी सम्भावित प्राकृतिक विपत्तिको सामना तथा व्यवस्थापन गर्न राज्य गम्भीर भई त्यस्तो बेला उद्धार, राहत र पुनर्वासका लागि आवश्यक जनशक्तिसहितको बलियो र स्थायी संयन्त्र र पूर्वाधार खडा गर्नुपर्छ । ” भन्दै अभियान थालेको थियो । राज्यको नीति नागरिकको जीवन रक्षालाई केन्द्रमा राखी निर्धारण हुनुपर्दछ । राज्यका हरेक पुर्जा नागरिकको जीवन बचाउनका लागि परिचालन हुनुपर्दछ । सङ्कटका बेला राज्य छ भन्ने अनुभूति आम नागरिकमा गराउनुपर्छ । सङ्कटबाट पाठ सिक्दै जीवन रक्षक नीति, जीवन रक्षक संयन्त्र, जीवनोपयोगी संरचना बनाउनुपर्छ । विपत्तिका बेला उद्धारका लागि दक्ष एवं विज्ञहरू सम्मिलित हजारौँको स्थायी संयन्त्र बनाउनुपर्छ । राहतका लागि पूर्व तयारीसहितको भण्डारण हुनुपर्छ । अस्थायी आवासका लागि संसाधनसहितको प्रबन्ध तयार रहनुपर्दछ र पुनर्वासका लागि प्रभावशाली व्यवस्था हुनुपर्छ । चरणबद्ध रूपमा यी चारै वटा कार्य गर्ने बलियो र स्थायी संयन्त्र नबनाउने हो भने सङ्कटमा बिलौना गर्ने छेपारोको कथा मात्र दोहोरिन सक्छ ।   

९. नदी किनाराका बस्तीहरूको वर्गीकरण र पुर्नवासः  विश्वव्यापी उष्णताका कारण नेपालमा रहेका हिमनदीहरू तीव्र रूपमा पग्लिने र हिमतालहरू फुट्ने सम्भावना रहेको सन्दर्भमा नदी किनाराका बस्तीहरूबारे आवश्यक अध्ययन गरी समयमै सुरक्षाका उपायहरू अवलम्बन हुनु जरुरी भएकोतर्फ शान्ति समाजले दुई दशक अगाडि नै ध्यानाकर्षण गराउँदै नदी किनाराका बस्तीहरूमा पूर्व चेतावनी जनाउने साइरनहरू जडान गर्ने कार्य तत्काल गर्नुपर्नेमा समेत जोड दिएको थियो । नदी किनारा छेउ रहेका बस्तीहरूको वर्गीकरण गरी जोखिमयुक्त बस्तीहरू सार्न अब ढिलो गर्नु हुँदैन । यसै गरी नयाँ बस्ती वा शहर बसाउँदा बाढी, प्रकोप जोखिममुक्त सुनिश्चित गरी सुरक्षित मापदण्ड अनुरूप मात्र बस्ती बसाउनुपर्छ । तराई मधेशमा बाढी प्रभावित, कटान र डुबान क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा नयाँ बस्ती नबसाउने र डुबान क्षेत्रमा रहेका बस्तीहरूलाई वैज्ञानिक ढङ्गले स्थानान्तरण गर्नुपर्छ । 

१०. जलवायु संस्कृतिको प्रवद्र्धन र विद्यमान शैली पुनरावलोकनका लागि आग्रहः हिमालयको जैविक विविधता, वातावरणीय विशिष्टता, प्राकृतिक स्रोत र साधनको प्राचूर्यता र सुन्दरतालाई दृष्टिगत गर्दै नीति निर्माणका हरेक क्षेत्रमा वातावरण संरक्षण प्राथमिकता बन्नुपर्छ र सो का लागि विकास निर्माण लगायत संवेदनशील क्षेत्रमा अवलम्बन गरिएको नीति पुनरावलोकन गर्नुपर्छ । एकातिर जलवायु परिवर्तनका कारण हुने आन्तरिक विस्थापन र जलवायु आप्रवासन लगायतका विषयमा राष्ट्रिय नीति तथा कानुन आवश्यक छ भने अर्कोतिर संघ,प्रदेश र स्थानीय तहमा जलवायु बजेटको प्रभावकारिता सहित समन्वय आवश्यक छ । वातावरण संरक्षणका लागि शान्ति समाजले सदैव स्थानीय साझेदारीमा जोड दिँदै आएको छ भने जलवायु न्याय पाठ्यपुस्तकमै समावेश अनिवार्य छ । भावी पुस्तालाई सुरक्षित प्रकृति हस्तान्तरण गर्ने दायित्व निर्वाह गर्दै प्रकृतिमैत्री जीवन धारा हुनुपर्छ जसले अन्तरपुस्ता न्यायलाई सुनिश्चित गरोस् । हिमालयको स्वभाव जस्तो छ सोही अनुरूप सभ्यतालाई परिमार्जन गर्नुपर्छ । अन्यथा  मनुष्य सिर्जित समस्याको मूल्य मानवतालेनै चुकाउनुपर्छ । मानव अधिकार तथा शान्ति समाज जलवायु न्याय हाम्रो अधिकार भन्ने उद्घोष सहित जलवायु संस्कृतिको प्रवद्र्धन गर्न सबैलाई आह्वान गर्दछ ।    (जारी मिति -२९ भदौ २०८३)

                                                        


सद्भाव प्रवद्र्धनका लागि राजनीतिक समाज र नागरिक समाजसहितको सहकार्यमा जोड

9/7/2026

 सद्भाव प्रवद्र्धनका लागि राजनीतिक समाज र नागरिक समाजसहितको सहकार्यमा जोड

( २०८३ साउन देखि कार्तिक मसान्तसम्म हुने मानव अधिकार तथा शान्ति समाजको जिल्ला शाखाहरूको साधारण सभाको उद्घाटन सत्रमा प्रस्तुत अबधारणापत्र)

हिंसालाई बढावा दिने कुनै पनि प्रवृत्ति, प्रचलन वा परम्परालाई निरुत्साहित गर्ने उद्देश्यले तीन दशक अगाडि मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । हिंसामुक्त समाजका लागि सद्भावयुक्त वातावरण अत्यावश्यक छ । तसर्थ शान्ति समाजको उद्देश्यमध्ये सद्भाव प्रवद्र्धन एक रहेको छ । शान्ति तथा अहिंसात्मक संस्कृति निर्माण र विस्तारका लागि सद्भाव प्रवद्र्धन अनिवार्य आवश्यकता हो । सद्भाव हाम्रो जीवन धारा भन्ने आह्वानसहित विगत तीन दशकमा शान्ति समाजले सद्भाव प्रवद्र्धन हेतु दर्जनौँ अभियान सञ्चालन गरिसकेको छ । समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा शान्ति समाजले जोड दिँदै आएको छ । शान्तिको जग र अहिंसाको मुहान नै सद्भाव हो । दिगो शान्तिका लागि समुदायबीच स्थिर र सुमधुर सम्बन्ध सदैव अनिवार्य छ । सो का लागि सद्भाव तथा सहिष्णुता प्रवद्र्धन एवं हिंसा र घृणाको खारेजी आवश्यक छ । 

पछिल्लो चरणमा देशका केही भागमा घटेका घटनाहरू चिन्ताजनक छन् । राजनीतिक लगायत विभिन्न स्वार्थका खातिर सद्भाव भड्काउने गरी षडयन्त्र भइरहेकोतर्फ सजग हुनु आवश्यक छ । यस्ता घटनाको  पछाडि को छ ? जरो समेत पहिचान गरी प्रमुख पात्र र प्रवृत्तिलाई दण्डित गर्नु आवश्यक रहेको धारणा शान्ति समाज पुन दोहो¥याउँछ । 

सद्भाव प्रवद्र्धन हेतु सबै मिलेर अहिले धेरै पसिना बगाउन सकियो भने भविष्यमा धेरै रगत बग्ने छैन । सहिष्णुताका आदर्शहरूलाई प्रवद्र्धन गर्न सकियो भने हिंसा र घृणाले बास पाउने छैन । तसर्थ धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव, राजनीतिक सद्भावलाई प्रवद्र्धन गर्न राजनीतिक समाज र नागरिक समाजबीच सहकार्य अहिलेको आवश्यकता हो । 

यही आवश्यकता मनन गर्दै शान्ति समाजले २०८३ साउन १६ गतेबाट “सद्भाव एकता अभियान” प्रारम्भ  गरेको छ । “हाम्रो जीवन धारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित सुरु गरिएको यो अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा सद्भाव एकता ¥याली सम्पन्न भइसकेको छ । यो अभियानलाई साथ दिन शान्ति समाज सबैलाई हार्दिक आग्रह गर्दछ । 

वर्तमान विश्वमा सामाजिक सञ्जाल÷सूचना प्रविधि जनजीवनको अभिन्न हिस्सा भएको छ । यस्तो प्रविधिको विवेक सम्मत प्रयोगले समाजलाई सही गति र दिशा निर्देश गर्दछ । तर सद्भाव बिथोल्ने र हिंसा भड्काउने जुनसुकै कृत्य अपराध हो । कुनै पनि हिंसा वा दङ्गा फसादका पछाडि भ्रामक समाचार र दुष्प्रचार जिम्मेवार रहँदै आएको देखिएको छ । तसर्थ मिथ्यालाई जडबाटै खारेज गर्नुपर्छ । घृणा र हिंसालाई बढावा दिने मिस इन्फरमेसन र डिस इन्फरमेसनमा संलग्नहरूलाई कानुन सम्मत दण्डित गर्नुपर्दछ । 

एकातिर अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो तर घृणात्मक अभिव्यक्ति अर्थात् हेट स्पिच अभिव्यक्ति स्वतन्त्रता होइन, अपितु अपराध हो । शान्ति समाजले विगत लामो समयदेखि व्याख्यासहित यसबारे ध्यानाकर्षण गराउँदै आएको छ । 

आधारभूत स्वतन्त्रताको रक्षा राज्य, समाज सबैको प्रथम दायित्व हो तर स्वतन्त्रताको अर्थ स्वच्छन्दता र स्वेच्छाचारिता होइन । विज्ञान र प्रविधि समयको देन र सभ्यताको सौगात हो । त्यस्तो सौगातको समुचित एवं विवेक सम्मत प्रयोग हुनुपर्छ र सद्भाव र सहिष्णुता सदैव केन्द्र विन्दुमा रहनुपर्दछ ।


शान्ति समाजद्वारा तीन लाख सहयोग

8/31/2026

शान्ति समाजद्वारा तीन लाख सहयोग 

मानव अधिकार तथा शान्ति समाजले २०८३ भदौ १० गते रसुवाबाट शुरु भएको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगका लागि रु। तीन लाख प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैकस्थित खातामा भदौ १५ गते जम्मा गरिएको हो । 

शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको छ । सोही पुरस्कारहरूको लागि प्रत्येक वर्ष छुटाइएको २ लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त २० हजार गरी कुल तीन लाख रकम बाढी पीडितहरूको सहयोग स्वरूप प्रदान गरिएको हो । पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्व केन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमै उक्त रकम बाढी पीडितहरूको सहयोगार्थ प्रदान गरिएको हो । 

२०७२ सालको भूकम्प पश्चात् पनि पीडितहरूको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा रु। दुई लाख सहयोग गरेको थियो भने २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।

शान्ति समाज शाखाको जिल्ला साधारण सभा

8/1/2026

1.काठमाडौँ शाखाको २९ औँ साधारण सभा 
समाजका संस्थापक सभापति कृष्ण पहाडीले समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा पुनः जोड दिनुभएको छ । साउन १६ गते बिहान शान्ति समाज काठमाडौँ शाखाको २९ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै पहाडीले विविधतालाई समस्याका रूपमा होइन, उत्सवका रूपमा ग्रहण गर्न सबैलाई आह्वान गर्नुभयो ।
शान्ति समाज काठमाडौँ शाखा सभापति विकास थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरे, नेकपा एमालेका पूर्व सांसद डा.बिन्दा पाण्डे, नेकपाका राष्ट्रिय सभा सांसद मदन कुमारी शाह, वाग्मती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, शान्ति समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाई, गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी लगायत अधिकारकर्मीहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा “विधिको शासनः आधारभूत स्वतन्त्रता सहितको सुशासन” विषयमा शान्ति समाजले तयार गरेको अवधारणा पत्र काठमाडौँ शाखा उपसभापति सार्जन चापागाईँले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन शाखा सचिव रबिना पौडेल ले गर्नु भएको थियो ।
2. बिधिको शासन: आधारभुत स्वतन्त्रता सहितको सुशासन” भन्ने आहवान सहित शान्ति समाज पाल्पा शाखाको २७औ साधारणसभाको उदघाटन सत्र । २०८३साउन २३गते तानसेन पाल्पा । सबै प्रमुख दलका प्रतिनिधिहरु र नागरिक समाज र शान्ति समाजका सदस्यहरु गरी ७७ जनाको सहभागिता । सरकारको ४ महिनाको कार्य सम्पादनको समीक्षा (नागरिक अडिट) सहितको ४ पृष्ठ्को अवधारणा पत्र प्रस्तुत र सदभाव प्रवर्द्धनका लागि प्रारुप पत्र प्रस्तुत । प्रमुख वक्ता कृष्ण पहाडी
3. शान्ति समाज सुर्खेत शाखाको २६ औ साधारणसभाको भव्य उदघाटन सत्र । साउन २४ गते बिरेन्द्रनगर सुर्खेत । सबै प्रमुख दलका प्रतिनिधिहरु, नागरिक समाज र शान्ति समाजका सदस्यहरु, सुरक्षा निकायका अधिकारीहरु गरी १५७ जनाको सहभागिता । सरकारको ४ महिनाको कार्य सम्पादनको समीक्षा (नागरिक अडिट) सहितको ४ पृष्ठ्को अवधारणा पत्र प्रस्तुत र सदभाव प्रवर्द्धनका लागि प्रारुप पत्र प्रस्तुत । प्रमुख वक्ता कृष्ण पहाडी
४.सुनसरी शाखाको जिल्ला साधारण सभा भदौ ६ गते इटहरीमा सम्पन्न । ओमप्रसाद गौतमको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचन सम्पन्न

सद्भाव एकता अभियान, एकता र्‍याली

8/1/2026

शान्ति समाजले सुरु गर्यो सद्भाव एकता अभियान
1.मानव अधिकार तथा शान्ति समाजले सद्भाव एकता अभियान सुरु गरेको छ । यो अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा एकता र्याली आयोजनाको क्रम सुरु भएको छ । “हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित शान्ति समाज सुर्खेत शाखाको आयोजनामा २०८३ साउन १६ गते बिहान वीरेन्द्रनगरमा एकता र्याली सम्पन्न भएको छ । कार्यक्रममा शान्ति समाजका महासचिव प्रकाश शाही लगायत सामाजिक अगुवाहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी काठमाण्डौस्थित माइतिघर मण्डलामा २०८३ साउन १८ गते सोमबार दिउँसो २ बजे शान्ति समाजले प्रदर्शन गर्दैछ ।
सद्भाव तथा सहिष्णुता प्रवर्द्धनका लागि क्रियाशील शान्ति समाजले गत निर्वाचन पूर्व पनि दर्जनौँ जिल्लामा सद्भाव प्रवर्द्धन केन्द्रित नागरिक संवाद तथा प्रदर्शन गरेको थियो ।
2. शान्ति समाज पाल्पा शाखा द्वारा  साउन १७ गते सद्भभाव र्यालि सप्पन्न
3. शान्ति समाज सल्यान शाखाको आयोजनामा साउन १७ गते एकता र्याली सल्यान श्रीनगरमा सम्पन्न
4. तोड्न होइन, जोडन योगदान गर्न आग्रह 
“हाम्रो जीवन धाराः अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले माइतीघर काठमाण्डौमा आधा घण्टा प्रदर्शन गरेको छ ।  २०८३ साउन १८ गते सोमबार दिउँसो भएको  प्रदर्शनमा सहभागीहरूले हिंसा र घृणालाई खारेज गरौँ, तोड्न होइन जोडन योगदान गरौँ, पीडितलाई न्याय र दोषीलाई सजाय सुनिश्चित गर भन्ने प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति, सभापति, पूर्व सभापतिहरू, केन्द्रीय समितिका पदाधिकारीहरूसहित ३ दर्जन शान्तिवादीहरूको सहभागिता थियो । 

5. हाम्रो जीवन धारा: अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा !!तोड्न होइन जोडनका लागि योगदान गरौँ!संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ !!

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाद्वारा २०८३ साउन २२ गते अपरान्ह बुटवलमा सद्‌भाव एकता अभियान अन्तर्गत आयोजित नागरिक संवाद कार्यक्रममा रा स्व पा,नेका,एमाले,नेकपा लगायत राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरु गरी सय भन्दा बढीको सहभागितामा जिवन्त छलफल. प्रमुख वक्ता कृष्ण पहाडी




Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links