9851240117

hurpes@gmail.com

Home

About us

Others

पाँच राजदुतावास अगाडि शान्ति समाजले प्रदर्शन गर्ने

Event date:

2025-09-18

पाँच राजदुतावास अगाडि शान्ति समाजले एकैदिन प्रदर्शन गर्ने 
काठमाण्डौस्थित अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (ब्रिटेन) र फ्रान्सका राजदुतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले एकैदिन प्रदर्शन गर्ने भएको छ । ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्वरको अवसरमा त्यसैको सेरोफेरोमा २०८२ असोज २ गते बिहिबार दिउँसो १ बजे गरिने प्रदर्शन आधा घण्टाको हुनेछ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिवद्ध हुन र शान्ति संस्कृतिको योगदान गर्नका लागि विश्वव्यापी रुपमा साझा मिति प्रदान गर्दछ भने अहिंसा र युद्धविरामको माध्यमबाट शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनको रुपमा शान्ति दिवसको घोषणा भएको थियो । 
स्मरणीय छ, भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढतासहित सन् १९४५ को २४ अक्टोवरमा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ बडापत्रले ६ वटा मुख्य अंगहरु स्थापना गरेको छ जसमा सुरक्षा परिषद् एक हो । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने प्राथमिक जिम्मेवारी सुरक्षा परिषद्मा छ जसले शान्तिका लागि खतरा उत्पन्न भएको अवस्थामा बैठक बस्ने गर्दछ । अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (व्रिटेन) र फ्रान्स राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन । 
यस्तो गहन दायित्व बोकेका सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु सो दायित्व निर्वाह गर्न असफल भएको मात्र होइन, स्वयं नै  अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा हुन थालेका छन् । पछिल्लो चरणमा रुसले युक्रेनमाथि आक्रमण गरि युद्ध थालेको तीन वर्ष नाघेको छ भने अमेरिकाले इजरायल इरान युद्धमा इजरायलको पक्ष लिएको मात्र होइन इरानमाथि बमवारी समेत गरेको थियो । सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु युद्धलाई निरुत्साहित गर्न र युद्ध अन्त्यका लागि योगदान गर्नुको सट्टा आफै युद्धरत हुनु र युद्धरत राष्ट्रको पक्षमा उभिनुले सुरक्षा परिषद्को म्याण्डेट माथि गम्भीर घात गरेको धारणा शान्ति समाजको छ । यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी  अनुरुपको भूमिका निर्वाह गर्न, आक्रमणकारीको भूमिकाबाट अलग हुन, युद्धरत राष्ट्रको पक्षपोषण नगर्न र युद्धमा संलग्न नहुन एवं  विश्वका विभिन्न भूभागमा चलिरहेको युद्ध अन्त्यका लागि सार्थक योगदान गर्न, आणविक विभीषिकाबाट विश्वलाई सधैका लागि मुक्त राख्न ठोस पहल हेतु सुरक्षा परिषद्का ५  स्थायी सदस्य राष्ट्रहरुलाई आग्रह गर्दै शान्ति समाजले यो प्रदर्शन आयोजना गर्न लागेको हो ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links