9851240117

hurpes@gmail.com

Home

About us

Others

press releases/ फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल

फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल

2025-12-22 17:23:23

By HURPES

प्रेस विज्ञप्ति
फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल 
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समय सम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने बिश्वास व्यक्त गरेको छ ।
२०८२ पुस ७ गते राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले “मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन, फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चय तिर जान्छ त्यही भएर फागुन २१ को चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो । यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गरेर बिदा हुन्छ” भन्नुभयो । 
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति  रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, सलाहकार  रामप्रसाद जोशी, बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, सदस्यता अपिल समित संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, रुपा पुडासैनी, मणिराम दाहाल, काठमाडौं शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने र काठमाडौं शाखा सचिव रविना धमला हुनुहुन्थ्यो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
७ पुस  २०८२
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू,
राष्ट्रपतिको कार्यालय महाराजगंज काठमाण्डौ नेपाल
 बिषयः निर्वाचन मार्फत लोकतन्त्र लयमा फर्किने अपेक्षा
सम्माननीय राष्ट्रपतिज्यू,
देशमा विद्धमान व्याप्त भ्रस्टाचार, कुशासन र दण्डहीनता बिरुद्ध २०८२ भदौ २३ गते जेन– जी द्वारा आब्हान गरिएको प्रदर्शनका दौरान सरकारद्वारा भएको वर्वर दमन÷हत्या र सो हत्या बिरुद्ध उत्पन्न तीव्र नागरिक आक्रोसको आडमा भदौ २४ गते भएको ध्वंस नेपालको इतिहाँसमा त्रासदी हो । तत्पश्चात उत्पन्न रिक्ततामा राजनीतिक निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले निर्बाह गर्नुभएको सार्थक भूमिका उल्लेखनीय छ । बिशेषत  त्यस्तो जटिल अवस्थालाई सामान्यीकरण गर्न सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको  योगदानको इतिहासले स्मरण गर्नेछ ।
उपरोक्त पृष्ठभूमिमा २०८२ भदौ २७ गते अन्तरिम सरकारको गठन भएको हो जसको मूल कार्यभार २०८२ फागुन २१ गते निर्वाचन गर्नु रहेको बिदितै छ । बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समय सम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने बिश्वास मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
तर एकातिर भाद्र २३ को दमन÷हत्याका मूल जिम्मेवारहरुलाई अहिलेसम्म कारबाही नभएको र अर्कोतिर नागरिक आक्रोसको आडमा भाद्र २४ को  ध्वंसका सुत्रधारहरुको पहिचान समेत गर्न नसकेको स्थिति दुर्भाग्यपूर्ण छ । घोषित मितिमै निर्वाचन नगर्न÷हुन नदिन र संक्रमणकाल लम्ब्याई आ आफ्नो अभिष्ट पुरा गर्न बिभिन्न कोणबाट चलखेल भईरहेको  सन्दर्भमा संक्रमणकाल लम्बिदै जानु लोकतन्त्र र नागरिक अपेक्षा विपरित भएकोले घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको र त्यसको प्रमुख दायित्व सरकारको भएको र सवै क्षेत्रबाट इमान्दार एवं सार्थक प्रयास हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
प्रार्थी
रेनुका पौडेल 
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
७ पुस २०८२


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links