9851240117
hurpes@gmail.com

2026-01-22 11:53:46
By HURPES
प्रेस विज्ञप्ति
लोकतन्त्रलाई लयमा फर्काउन र सद्भाव प्रवर्द्धन गर्न आहवान गर्दै ५२ कार्यक्रम सम्पन्न
फागुन २१ गते घोषित मितिमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई लयमा फर्काउन र सद्भाव प्रवर्द्धन गर्न विशेष आहवान गर्दै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८२ पुष २५ देखी माघ ७ गते सम्ममा नागरिक सम्वाद र सद्भाव र्याली/ प्रदर्शन सहित ५२ कार्यक्रम सम्पन्न भएको छ ।
यस क्रममा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा भरतपुर,गैडाकोट, बीरगन्ज,जलेस्वर,बिर्तामोड,इलाम,तेह्रथुम,खादवारी, इटहरी र बिराटनगरमा पुष २९ देखी माघ ७ गते सम्म आयोजित “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख वक्ताको रुपमा र सभापति रेनुका पौडेलले विशिष्ट वक्ताको रुपमा मन्तव्य व्यक्त गर्नु भएको थियो भने महासचिव प्रकाश शाहीले समाजद्वारा तयार गरिएको अवधारणा पत्र प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो । उपसभापति लक्ष्मीनारायण मिश्र,केन्द्रीय सदस्य नम्रता खरेलले बिभिन्न जिल्लामा सम्पन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी मधेशी नागरिक समाजको आयोजनामा सोही विषयमा माघ ३ गते राजबिराजमा पुर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सभापतित्वमा, माघ २ गते लहानमा सिरहा बिकास मन्च को आयोजनामा नागरिक अगुवा रामरिझन यादवको सभापतित्वमा र माघ २ गते नै सिरहामा प्राध्यापक चन्देश्वर यादवको सभापतित्वमा सम्पन्न अन्तरकृयात्मक गोष्ठिमा समाजका सस्थापक सभापति कृष्ण पहाडीले प्रमुख अतिथि र सभापति रेनुका पौडेलले विशिष्ट अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुका साथै समाजद्वारा तयार गरिएको अवधारणा पत्र महासचिव प्रकाश शाही द्वारा प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो ।
पछिल्लो चरणमा देशका केही भागमा घटेका घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव, राजनीतिक सद्भावलाई प्रवर्द्धन गर्न एवं हिंसा र घृणालाई खारेज गर्न विशेष आहवान गर्दै शान्ति समाजको आयोजनामा सस्थापक सभापति कृष्ण पहाडी,सभापति रेनुका पौडेल र नागरिक अगुवा अर्जुन पराजुलीसहितको सहभागितामा पुष ३० देखि माघ ७ गते सम्म बीरगन्ज,कलैया, चन्द्रपुर, जनकपुर, सिरहा, लहान, राजबिराज, इनरुवा, इलाम, फिदिम, म्याङ्लुङ, खादवारी, हिले, इटहरी र बिराटनगर गरी १५ जिल्लामा सद्भाव प्रवर्द्धन र्याली गरिएको थियो । साथै पुष २५ देखि सद्भाव प्रवर्द्धन आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा विभिन्न जिल्लामा थप २७ वटा प्रदर्शन भई सकेको छ ।
समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
८ माघ २०८२
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links